वि.सं:
नेपाल संवत: ११४५ ञलागा तृतीया - १८
माननीय प्रदेश प्रमुख डिल्लीराज भट्टज्यूको जीवनी
पारिवारिक एवम् शैक्षिक पृष्ठभूमिः
प्रदेश प्रमुख डिल्लीराज भट्टको जन्म डोटी जिल्ला जोरायल गाउँपालिका वडा नं. २ (साबिक छत्तीवन पञ्चायत, रिठा) मा पिता तिलकराज भट्ट र माता मधुदेवी भट्टको पाँचौ सन्तानका रुपमा वि.सं. २००७ साल भाद्र १४ गते भएको हो। परिवारमा तीन दिदी, एक दाइ र एक भाइमध्ये अहिले दुई दिदीहरू ठूली दिदी रोहिणीदेवी वस्ती र माहिली दिदी देवी ओझाको स्वर्गारोहण भइसकेको छ। दिदी ललितादेवी भट्ट, दाजु दामोदर भट्ट र भाइ मोहनराज भट्ट आ(आफ्नो क्षेत्रमा क्रियाशील हुनुहुन्छ।
भट्टको प्रारम्भिक शिक्षा स्थानीय कफल कट्टेश्वर प्राथमिक विद्यालयबाट सुरु भयो। उक्त विद्यालयमा उहाँले २०१६ देखि २०१८ सम्म बिताउनुभयो। कैलाली स्थित भैरव मिडल स्कूलमा २०२०–२०२१ सम्म दुई वर्ष पढेर कक्षा ७ सम्म अध्ययन गर्नुभयो। २०२४ सालमा वीरगञ्जमा कलेज अफ एजुकेशनबाट ‘नर्मल ट्रेनिङ’ लिनुभयो। २०२६ सालमा पञ्चोदय हाइस्कूल धनगढीबाट एसएलसी दिने सिलसिलामा सिलगढीमा माघ १ गते चर्चित काण्डमा गिरफ्तार भई जेलनेल, जंजिर र हतकडीसहित कठोर यातनाका साथ परीक्षामा सहभागी बन्नुभयो।
वि.स. २०२७ सालमा हुँदै गरेको राष्ट्रिय पञ्चायतको चुनावमा उम्मेदवारी दिन पूर्व प्रधानमन्त्री डा. के.आई. (कुँवर ईन्द्रजीत) सिंह ६ महिना अगाडि नै डोटीको सदरमुकाम सिलगढी आएका थिए। त्यसबेला डोटीमा अर्का चर्चित व्यक्ति थिए, खडक बहादुर सिंह। उनी राजा महेन्द्रको नजिकका मान्छे भनेर चिनिन्थे। चुनावमा खड्क बहादुर सिंह, डा. केआई सिंहको विपक्षमा उभिए। राज्य पक्षीय खडक बहादुरले सेना, प्रहरी हातमा लिएर पञ्चायत विरोधी विद्यार्थीमाथि ठूलो दमन गर्न भूमिका खेले । २०२६ माघ १ गतेको यही घटनालाई माघ १ को चर्चित काण्ड भनेर लिइन्छ। जुन घटनामा भट्टसहितका विद्यार्थीहरु गिरफ्तार भई कठोर यातना भोग्नुपरेको थियो।
आर्थिक अवस्था दयनीय भएकाले उहाँको उच्च शिक्षाको यात्रा यहीँ रोकियो। तर, अनुभव र कर्मले खारिनुभएका उहाँमा अनौपचारिक ज्ञान प्रशस्त छ र वाक्कलामा पूर्ण हुनुहुन्छ।
२०२१ सालको फागुनमा डडेलधुरा आलीताल पञ्चायत निवासी महानन्द जोशी र कौशिलादेवी जोशीकी सुपुत्री रेखादेवीसँग उहाँको विवाह भयो। धर्मपत्नीबाट पाएको अतुलनीय सहयोगका कारण ६० वर्षअघिदेखि राजनीतिमा निरन्तर सक्रियतापूर्वक सहभागी हुन पाएको वहाँ बताउनुहुन्छ। धर्मपत्नी रेखादेवी पनि राजनीतिमा सक्रिय हुनुहुन्छ। ने.क.पा. (एमाले) गाउँ कमिटि सदस्य हुँदै अखिल नेपाल महिला संघको प्रथम अधिवेशनबाट डोटी जिल्ला कमिटि उपाध्यक्ष र हाल अखिल नेपाल महिला संघको सुदूर पश्चिम कमिटीको सल्लाहकार सदस्य हुनुहुन्छ।
भट्ट दम्पतिका पाँच छोरी र एक छोरा हुनुहुन्छ। छोरीहरु शान्ति बडु, कुन्ती पाण्डे, कान्ति पन्त, क्रान्ति सिंखडा, सक्रान्ति भट्ट र छोरा ज्योति भट्टका साथै, एक धर्मछोरी बिमला ओलीसमेत गरी सात छोराछोरीका अभिभावक हुनुहुन्छ। छोरी र छोराका गरी १८ जना नातिनातिनी, चार जना पनाति पनातिनीहरु हुनुहुन्छ। परिवारका सबै सदस्यहरु राजनीतिक चेतयुक्त हुनुहुन्छ।
प्रारम्भिक मार्गदर्शनः
आर्थिक रुपले बिपन्न परिवारमा जन्म भएको हुँदा कृषि तथा पशुपालनबाट नै परिवारको गुजारा चलेको थियो। जेठो बुवाको निधनपछि बुवाले जेठो बुबाका सन्तानलाई पनि सँगै राखेर लालनपालन गर्नुपरेको थियो। दुई परिवारका गरी १० जना लालाबाला हुर्काउन, पढाउन, बढाउन निकै कठिन अवस्था थियो। तथापि परिवारका सबै साक्षर भए।
बुबा धार्मिक अध्येता हुनुहुन्थ्यो। रामायण, कृष्णचरित्रको ज्ञान भएको नैतिक आचरणयुक्त हुनुहुन्थ्यो। राजनीतिमा लागेकोमा बुवा खुशी नहुनु भएपनि कहिल्यै रोकतोक भएन। २०२१ सालमा काँग्रेसमा लाग्दा ‘तेरो घरमा काँग्रेस पसोस् भन्छन्, राम्रो होइन, नलाग भन्दा त्यसबेला बुवालाई सम्झाइ बुझाई राजनीति संलग्नतालाई निरन्तरता दिनुभयो। पछि समयक्रमसँगै बुवा आमा नै कम्युनिष्ट राजनीतिमा लाग्नुभयो। समाज परिवर्तनमा आ–आफ्नो स्थानमा भूमिका खेल्नुभयो। आफ्नो परिवारलाई पाल्न समेत निकै दुःखकष्ट भोग्नुपरेको अवस्थामा कम्युनिष्ट पार्टी निर्माणमा सक्रिय रहन सहज भने थिएन।
पेशागत आबद्धताः
कमजोर आर्थिक अवस्थाका कारण उहाँले आफू पढ्दै पढाउन सुरु गर्नुभयो। बि.सं. २०१९ सालमा कफलकट्टेश्वर प्राविमा एक वर्ष शिक्षण गर्नुभयो। बि.सं. २०२३ बाट फेरि कैलालीको सिसैया स्थित राष्ट्रिय प्रा.वि.मा पढाउने काम सुरु गर्नुभयो। बि.सं. २०२४ सालमा श्री राष्ट्रिय महेन्द प्राइमरी स्कूल, ऐठामा प्रधानाध्यापक हुनुभयो। त्यसपछि रघुनाथ प्रा.वि. जाली, कैलाली, पञ्चोदय हाइस्कूल र त्रिनगर मावि, धनगढीमा पनि अध्यापन गराउनुभयो।
बि.सं. २०३० सालमा राजनीतिक अभियोग लगाई स्थायी शिक्षकबाट निश्कासन गरियो। तथापि, त्यसपछि पनि उहाँको शिक्षण यात्रा भने रोकिएन। बि.सं. २०३१ सालदेखि बि.सं. २०३३ सालसम्म डोटीको कफलकट्टेश्वर प्रा.वि.मा प्रधानाध्यापक भएर निजी श्रोतको शिक्षकका रुपमा कार्यरत रही २०३३ उत्तराद्र्धबाट शिक्षण पेशाबाट अवकाश लिनुभयो। बि.सं. २०५१ सालमा डोटी जिल्लाको सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्ष हुनुभयो।
राजनीतिक जीवनः
भट्टको राजनीतिक जीवन नेपाली काँग्रेसबाट सुरु भयो। बि.सं. २०२१ सालदेखि बि.सं. २०२६ माघसम्म काँग्रेसको विभिन्न कमिटीमा काम गर्दै कैलाली जिल्ला कार्यसमिति सदस्यसम्म बन्नुभयो। राजनीतिबारे राम्ररी नबुझेका अवस्थामा सुनिसुनाई कुराहरुबाट कम्युनिष्ट पार्टीप्रति घृणा जागृत हुँदा काँग्रेस बन्न पुग्नुभएको थियो। चीनमा कम्युनिष्ट पार्टी स्थापना भएपछि बि.सं. २०१६ सालतिर तिब्बतबाट दलाई लामा पक्षका टोली भागेर भारत जानका लागि डोटीको काउलीगाड आइपुग्यो। उनीहरु आफूमात्रै हुँदा आफ्नै भाषा बोल्थे भने स्थानीय देखेपछि जानी नजानी नेपालीमा बोल्थे।
दलाई लामा पक्षधर टोलीले कम्युनिष्ट पार्टीका बारेमा निकै घृणा फैलाउँदै हिँडेका थिए। कम्युनिष्टहरु खराब भन्थे। कम्युनिष्ट भएकै कारण घर, देश छाडेर हिँड्नुपरेको सुनाउथे। भागेका तिब्बतीहरुकै कुरा सुनेर भट्टमा कम्युनिष्ट विरुद्ध घृणा पैदा भएको थियो। भट्ट कफलकट्टेल स्कूलमा शिक्षक हुनुहुन्थ्यो त्यसबेला नेपाली काँग्रेसले संगठन विस्तार गर्दै हिँडेकाले उहाँ काँग्रेसमा जोडिन पुग्नुभएको हो।
बि.सं. २०२१ सालमा बि.सं. २०१५ सालका सांसद शिवराज पन्तको नेतृत्वमा शेरबहादुर देउवा, खेमराज मायालु लगायतका नेताहरु सहित कैलालीको श्रीपुरमा बैठक बस्दै थियो भन्ने थाहा पाउनुभयो। आफ्नो परिवार शोषक सामन्तीहरुको हेलाहोचोबाट पीडित भएकाले पञ्चायती व्यवस्था प्रति घृणा जागेको अवस्था थियो। तत्काल पञ्चायत विरुद्ध क्रान्तिकारी पार्टी काँग्रेस नै भएको ठानी उहाँले त्यस बैठकमा उपस्थिति जनाउनुभयो। बैठकमा जाँदा वहाँलाई काँग्रेसको सदस्यता दिइयो र उहाँले स्वीकार गर्नुभयो। तर, त्यस बैठकमा सेतीका तत्कालिन अञ्चलाधीश लिलाराज बिस्टले जासुस खटाएका रहेछन्। काँग्रेसको सदस्यता लिएको कुरा जासुसमार्फत् पुगेपछि गिरफ्तार हुनुभयो र ठूलो यातना दिइयो।
काँग्रेसबाट कम्युनिष्ट बन्ने घटना रोचक छ। काँग्रेसको सदस्य रही पञ्चायत विरुद्ध लागिरहनुभएको अवस्थामा बि.सं. २०२६ माघ १६ गते गिरफ्तार हुनुभयो।१८ दिनको जेलजीवन अत्यन्त कष्टपूर्ण रह्यो। फागुन ४ गते रिहा भएपछि माला अबिर लगाएर काँग्रेसले धनगढी बजार परिक्रमा गराए। त्यसैबेला कम्युनिष्ट पार्टीका नेता गोपाल शिवाकोटी वहाँलाई खोज्दै धनगढी उत्तरवेहडीस्थित घरमा पुग्नुभयो। रातभरी कम्युनिष्ट पार्टीका बारेमा विश्व इतिहास र नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा सुनाउनुभयो। बिहान ४ बजेतिर अब उज्यालो हुन लाग्यो, प्रहरी आउँछन् भन्दै हिँड्ने बेलामा चम्किलो रातो तारा पुस्तक दिँदै शिवाकोटीले भन्नुभयो 'काँग्रेस ठूलाबडाहरूको पार्टी हो।' कुनै दिन गरिबीका कारण हेपाइमा पर्नुहुनेछ र कम्युनिष्ट बन्नुहुनेछ। बाँचे भेट भइएला।
शिवाकोटीले दिएको पुस्तक पढ्दैजाँदा कम्युनिष्ट पार्टी प्रति चाख बढ्दै गयो। यसै क्रममा स्वास्थ्य उपचारका लागि भारतको बम्बई जानुभयो। त्यहाँबाट फर्कँदै गर्दा मथुरा नजिकै एक रेल स्टेशनमा नेपाली झैं देखिने युवकसँग भेट भयो। नेपाली हुन् कि होइनन् ? ठम्याउन नसक्दा हिन्दीमै बातचित भयो। चिनजानपछि तिनी नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी) मनमोहन समूहका केन्द्रीय सदस्य हरेराम शर्मा भएको जानकारी भयो। शर्माले छुटिने बेला 'तपाई र मेरो भेट हुनेछ' भन्नुभएको थियो।
त्यसबेला वहाँ नेपाली काँग्रेसको जिल्ला सदस्य हुनुहुन्थ्यो। एकदिन नेपाली काँग्रेस कैलीलाका सभापति लोकन्द्रबहादुर शाहीको घर नजिकै खप्तड बाबाको कुटीमा कैलालीका सबै उच्च पदस्थ नेता, कर्मचारीसहितको भेटघाट कार्यक्रम भयो। सभापतिले नोकरचाकर, छोराछोरी हुँदाहुँदै जिल्ला सदस्यलाई सबैका सामू चिया लिएर आउ भन्दै हेयभावले अह्राए। त्यो अवस्थालाई स्वाभिमानी भट्टको इमानले स्वीकारेन। जेलबाट निस्केको रात कम्युनिष्ट नेताले भनेको वाक्य सम्झिनुभयो। त्यसपछि, ‘हवस् त सभापतिज्यू, यो मेरो पार्टी होइन रहेछ। जय नेपाल भन्दै हिँड्नुभयो। उहाँलाई लाग्यो, काँग्रेस निम्न वर्गको हितका लागि बनेको वर्गीय पार्टी होइन, हुने खानेको पार्टी हो। त्यसपछि नै भट्टको नेपाल कम्युनिष्ट पार्टीसँग सम्पर्क भएको हो।
नेकपा (मार्क्सवादी) मनमोहन अधिकारी समूहका केन्द्रीय सदस्य हरेराम शर्मासँगको भेटपछि उहाँले काँग्रेस त्याग गरी कम्युनिष्ट पार्टीको सदस्य बन्न चाहनुभयो। गरिबी र हेपाईले विद्र्रोही स्वभाव जन्मियो। उहाँ भन्नुहुन्छ – ‘वास्तवमा त्यही हेपाइले जीवन जिउन सिकायो। संघर्ष र स्वाभिमानमा बाँच्न सिकायो। त्यसैकारण एउटा महान विचारसँग जोडिन पुगे।
बि.सं. २०२६ साल चैतमा काँग्रेस त्यागेर कम्युनिष्ट भएता पनि कम्युनिष्ट पार्टीको सदस्यता पाउन भने करिब २ वर्ष लाग्यो। परीक्षणपछि बि.सं. २०२८ साल वैशाख ३ गते २४२ नम्बरको सदस्यता प्राप्त गर्नुभयो। सुदूरपश्चिममा वहाँ उक्त कम्युनिष्ट पार्टीको संस्थापक सदस्य नै हुनुहुन्छ। कम्युनिष्ट पार्टीको प्रारम्भिक कमिटीमा रहेर सुदूर पश्चिमकै इञ्चार्जसम्म भई जिम्मेवारी वहन गर्नुभयो।
बि.सं. २०३० सालमा पञ्चायती सरकार निर्मम रुपमा जाइलाग्यो। शिक्षण पेशामा रहनुभएका उहाँको कम्युनिष्ट सदस्य भएकै कारण जागिर खोसियो। २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा एक जुट हुन सुदूरपश्चिमका सबै जिल्लामा प्रचारप्रसारमा क्रियाशील हुनुभयो। पार्टी कामको सिलसिलामा बि.सं. २०३८ तिर भारतको आगरा, फरिदाबाद र दिल्लीमा भारत नेपाल प्रवासी संघसँग एकाकार भई संगठन विस्तार गर्दा भारतका मूख्य शहर बम्बई, कलकत्ता, वरेली, लखनउ, पञ्जाव जस्ता स्थानको भ्रमण गर्ने अवसर प्राप्त गर्नुभयो। बि.सं. २०४६ सालसम्म उहाँले प्रारम्भिक कमिटीदेखि सुदूरपश्चिममा पार्टीको ईञ्चार्जसम्मको जिम्मेवारीमा रहेर काम गर्नुभयो।
बि.सं. २०४७ साल वैशाखमा उहाँले ने.क.पा. माक्र्सवादी (मनमोहन समूह) छाडेर ने.क.पा. माले प्रवेश गर्नुभयो। माले प्रवेशको घटना पनि रोचक छ। बि.सं. २०४७ वैशाखमा ने.क.पा.(माले) ले डडेलधुरामा युवराज ज्ञवालीको नेतृत्वमा आमसभा राखेको थियो। कम्युनिष्टको आमसभा मिलेर गरौँ भन्दै माक्र्सवादी मनमोहन समूहका अर्का नेता मधुसुधन ज्ञवालीसँग भट्टले प्रस्ताव गर्नुभयो तर, ज्ञवालीले मान्नुभएन। त्यसपछि भट्टलाई लाग्यो, अब ने.क.पा. माक्र्सवादी (मनमोहन समूह) मा रहेर कम्युनिष्ट आन्दोलनमा अघि बढ्न सकिन्न। उक्त पार्टीमा २० वर्ष रहँदा आमसभा समेत गर्न नसकिएको अवस्थामा ने.क.पा. (माले) घरआँगनमै आएर आमसभा गर्न सक्षम बन्यो भन्ने लागेपछि युवराज ज्ञवालीसँग सल्लाह गरेर मालेमा समाहित हुने निर्णय गर्नुभयो।
वहाँ ने.क.पा. माले प्रवेश गरेको केही समयपछि बि.सं. २०४७ साल पुस ११ गते मनमोहन अधिकारी नेतृत्वको मार्क्सवादी पार्टी नै मदन भण्डारी नेतृत्वको नेकपा मालेसँग एकीकरण भई ने.क.पा. (एमाले) बन्यो। त्यसपछि वहाँ एकीकृत पार्टीको डोटी जिल्ला सहसंयोजक बन्नुभयो। बि.सं. २०४६-४७ को जनआन्दोलनमा पञ्चायती शासन विरुद्ध आम नागरिकलाई गोलबन्द हुन बाम मोर्चाको तर्फबाट सुदूरपश्चिममा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो।
बि.सं. २०४९ सालमा ने.क.पा. (एमाले) डोटी जिल्ला कमिटीको प्रथम अधिवेशनबाट उपसचिव हुनुभयो। त्यसैबेला पाँचौ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि हुनुभयो। बि.सं. २०५२ सालमा फेरि डोटीको उपसचिव हुनुभयो। बि.सं. २०५४ सालमा छैटौं महाधिवेशन प्रतिनिधि हुनुभयो। पार्टी विभजनका बेला बि.सं. २०५४ मा नेकपा (एमाले) डोटीको सचिव हनुभयो।
बि.सं. २०५६ मा डोटी जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुनुभयो। फेरि पार्टीको डोटी जिल्ला सचिव हुनुभयो। त्यसपछि सेती अञ्चल समन्वय कमिटि, स्कूल विभागको सदस्य हुँदै सेती अञ्चल कमिटी सदस्य हुनुभयो। बि.सं. २०६२/६३ मा तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश शासनको विरुद्धमा १९ दिने जनआन्दोलनमा जनमत सिर्जना गराउने अत्तरिया र धनगढीको चौराहामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। बि.सं. २०६९ मा पार्टीको सुदूर पश्चिम अनुशासन आयोगको अध्यक्ष हुनुभएकोमा नेकपा विभाजनपछि ने.क.पा. एमालेको केन्द्रीय कमिटी सदस्य बन्नुभयो। दुई कार्यकाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत हुनुभयो।
पार्टीमा निकै लामो योगदानपछि बि.सं. २०५६ सालमा संसदीय निर्वाचनमा अवसर पाउनुभयो। भरखरै पार्टी विभाजन भएको अवस्थामा उम्मेदवार बन्नुपरेको परिस्थिति थियो। बि.सं. २०७८ सालमा पनि पार्टी विभाजन भएकै बेला पार्टीको निर्णय मानेर राष्ट्रिय सभा सदस्यको उम्मेदवारका रुपमा अघि सर्नुभयो। गठबन्धन टुटेको, पार्टी फुटेको अवस्थामा जित्ने गणित थिएन। यद्यपि, पाँच पालिका अध्यक्ष र एक प्रदेशसभा सदस्यकै बढी मत प्राप्त गर्नुभएकोले इतर गठबन्धनमा हलचल मच्चिएको थियो। जित्ने प्रचुर सम्भावना भएको अवस्थामा बि.सं. २०७९ सालमा पनि वहाँलाई पार्टीले उम्मेदवार बनाउन चाहेको थियो तर चुनाव खर्च जुटाउन नसक्ने भएपछि उम्मेदवार हुन मान्नुभएन। उक्त निर्वाचनमा उहाँ कैलाली जिल्ला, निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन परिचालन संयोजक भएर खट्नु भयो। पार्टीको पाँचौ, छैटौं, सातौँ र दशौं महाधिवेशन प्रतिनिधिका साथै गोदावरीमा प्रथम विधान अधिवेशन प्रतिनिधि भई सहभागी हुनुभयो।
पार्टीको मूलधारमा रहेर अनवरत खटिरहँदा पार्टीमा गरेको योगदानको कदर गर्दै पार्टीले प्रदेश प्रमुख बनाउने निर्णय गर्यो। नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट बि.सं. २०८० फागुन ३० मा गण्डकी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त हुनुभयो।
नेतृत्वसँगको सान्निध्य:
सुदूर पश्चिममा नेताहरु पुग्दा वहाँको घर नै सेल्टर हुन्थ्यो। मनमोहन अधिकारीदेखि कमल कोइराला, मधुसुदन ज्ञवाली, भरतमोहन अधिकारी, प्रलयहाङ सुब्बा, विष्णुबहादुर मानन्धर, तुलसीलाल अमात्य लगायतका नेताहरुले सेल्टर लिएका थिए। पार्टी महासचिव मदन भण्डारी सुदूरपश्चिम भ्रमणका क्रममा बझाङबाट आउँदा स्वागत गरी डडेलधुराको जोगबुढाको आमसभासम्म लैजाने काम वहाँले नै गर्नुभयो। त्यसै बखत मदन भण्डारीसँग सत्संगत गर्ने अवसर पाउनुभयो।
केपी शर्मा ओली, माधव नेपाल, बामदेव गौतम, प्रदीप नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, प्रदीप ज्ञवालीलगायतका नेताहरुको सुदुरपश्चिम बसाईं पनि भट्टकै व्यवस्थापनमा भएको थियो।
एमालेसँग जोडिएका सबै बरिष्ठ नेतादेखि अहिलेका नेताले उहाँलाई चिन्नुहुन्छ। नेकपा एमालेसहित अन्य पार्टीका कार्यकर्ता शुभेच्छुकले पनि आदरभाव प्रकट गर्छन्। कैलाली र डोटीको सीमा फल्टुडेमा बस्दा त्यहाँ पुग्ने नेताहरु उहाँको घरमा नपुग्ने सायदै होलान्।
क्रान्तिकारी स्वभावः
बि.सं. २०२७ सालतिर संगठन निर्माणको क्रममा उहाँले दलितको घरमा खाना खाएको भनेर व्यापक विरोध भयो। जातभातले पानी बाराबारको अवस्थामा दलितसँग छोइछिटो गर्नु भनेको ठूलो कुरा थियो। गाउँमा भट्टको अत्यन्त विरोध भयो। तर वहाँ बिचलित नभई डटेर बिरोधको सामना गर्दै चातुर्यतापूर्वक बिरोधीहरुलाई आफ्नो पक्षमा ल्याउन सफल हुनुभयो।
आफ्ना विरोधीहरुलाई कुखुरा काटेर एक जर्किन मादक पद्धार्थ सेवन गराइदिनुभयो। त्यसपछि पार्टी सदस्य ठगुवा दमाईको घरमा पुगेर उनकी श्रीमतीलाई खाना पकाउन लगाउनुभयो। ‘भाउजू, आज चमात्कार गर्नुपर्छ, खाना पकाउनुस् र सबैलाई बाँडेर खुवाउनुहोस् भन्दै भट्टले आग्रह गर्नुभयो। होसमा नरहेका ती विरोधी समूहले ठगुवाकै घरमा खाना खाए।
गौरा पर्व सुरु भएको बेला थियो। दिनभरी खेल हुन्थ्यो र राति देउडा गीत र दोहोरी सुरु हुन्थ्यो। देउडामा पोख्त भट्टले अघिल्लो रात ठगुवा दमाईको घरमा गएर खानेहरुसँग दोहोरी खेल्नुभयो र गीतमार्फत् भण्डाफोर गरिदिनुभयो। त्यसपछि विरोधीहरु ठाउँमा आए।
बि.सं. २०३२ सालमा हलो जोत्दा खुट्टामा चोट लाग्यो। त्यसबेला पार्टीका सबै सदस्यहरुले सघाए। पार्टी सदस्यहरु प्रायः दलित थिए। घरमा भएको दुध दही दिँदा फेरि दलितहरुलाई गोरस दिएको भन्दै वहाँमाथि घेराबन्दी भयो। बुवा र आमाको साथ सहयोगमा त्यसको पनि डटेर सामना गर्नुभयो।
सन्तानहरु सबैको बिहे प्रगतिशील तबरले गर्नुभयो। खाँटी कम्युनिष्ट बन्नुभएका उहाँले बुबाआमा बित्नुहुँदा काजकिरिया गर्नुभएन। सुत्केरी बार्नुभएन। घरमा महिलाहरुले महिनाबारी बार्न छाडियो। २०३३ सालबाटै जनै भिर्न छाड्नुभयो।
जेल जीवनः
बि.सं. २०२१ सालदेखि बि.सं. २०४६ सालसम्ममा बिभिन्न मितिमा ४२ पटक गिरफ्तार हुनुभयो भने तीन पटक कारागारमा बस्नुपर्यो। ३९ पटकसम्म प्रहरीकहाँ पुग्ने, कुटाई खाने र फर्कने क्रम भयो। बि.सं. २०४२ सालको बम काण्डमा भने सबैभन्दा लामो समय (छ महिना) कारागारमा बस्नु पर्यो।
पत्रकारिताको अनुभवः
बि.सं. २०३७ सालमा सुदूरपश्चिमकै पहिलो पत्रिका भीम सन्देश त्रैमासिक बुलेटीनको प्रधान सम्पादक बन्नुभएको थियो। नेकपा एमालेका हालका अध्यक्ष नेता केपी शर्मा ओली लगायतले त्यसबेला जेलमा भोगेको यातना सम्झेर डोटेली भाषामा लेखको गीत छापेको आरोपमा उक्त पत्रिका नै बन्द गराइयो।
केपी शर्मा ओली लगायत नेताहरुको नाममा लेखिएको गीतको अंश यस्तो थियोः
शासन चलाउन लाग्य दारुका रङ्गमी ।
सङ्गीन रोपन लाग्या गुपत अङ्गमी ।।
गौरा कोइराला लगायतले पाएको यातना सम्झेर यस्तो गीत पनि छपाइएको थियोः
सिगरेठले जलाउन लाग्या स्वाइनीका छातीमी ।
जबर्जस्ती बलात्कार अर्दा छन् रातीमी ।।
शैक्षिक क्षेत्रमा योगदानः
आफू दुर्गम क्षेत्रको बसोबासी हुनुका साथै गरीबीको कारण उच्च शिक्षा हाँसिल गर्नबाट बञ्चित हुनुपरेको पीडाका कारण स्थानीय तहमै शिक्षा आर्जन गर्न सकिने आन्दोलनको नेतृत्व गर्दै डोटी जोरायल स्थित घण्टेश्वर मा.वि.लाई दश जोड दुई बनाउन व्यवस्थापन समितिको सचिव भै सुरुमा ११ हजार पाँच सय र ५१ हजार पाँच सय गरी ६३ हजार सहयोग गर्नुभयो।
कैलाली चुरे शिवनगर स्थित शिवसूर्य कलेज बनाउने अभियानमा पुनः १६ हजार ५ सय आर्थिक सहयोग गर्नुभयो। डोटी बुडर स्थित रामपुर माविलाई दश जोड दुई बनाउन व्यवस्थापन समितिको सल्लाहकार सदस्य र अर्थ संकलन उपसमितिको संयोजक भई ११ हजार र ५५ हजार गरी कूल ६६ हजार आर्थिक सहयोग गर्नुभयो। र, त्यसै ठाउँमा छहरा कलेजको आवश्यकता महसुस गरी कलेज व्यवस्थापन समितिको सचिव भई सञ्चालनको अनुमति लिएर बिदा लिनुभयो।
कैलाली चुरे गाउँपालिका स्थित मेलमट्टेश्वर माविलाई दश जोड दुई बनाउन अथक परिश्रम गर्नु परेको थियो। जहाँ उहाँले ५१ हजार पाँच सय आर्थिक सहयोग गर्नुभयो।
कफलकट्टेश्वर प्राविको सचिव भई त्यसलाई निमावि बनाउने पूर्वाधार निर्माण गरेको र निमावि स्थापना पश्चात् भर्खरै २०८१ वैशाखमा सम्पन्न स्वर्ण जयन्ती समारोहमा ११ हजार ५ सय आर्थिक सहयोग गर्नुभयो। सेती महाकाली बहुमुखी क्याम्पसमा सल्लाहकार रहिसक्नुभएका उहाँले १६ हजार पाँच सय सहयोग प्रदान गर्नुभयो।
प्रदेश प्रमुख भइसकेपछि पोखरामासमेत साहित्य तथा भाषा संरक्षणमा सहयोग पुग्ने हेतु २११ औं भानुजयन्ती विशेष समारोहमा भानुवाङ्मय प्रतिष्ठानको भवन निर्माण सहयोगार्थ २० हजार सहयोग गर्नुभएको छ। यसैगरी पशुपतिनाथमा सञ्चालित कोटीहोममा २० हजार सहयोग र शुक्ला साहित्य प्रतिष्ठान, बाटुलेचौर मेलामा १० हजार सहयोग प्रदान गर्नुभएको छ।
धनगढीमा सञ्चालित श्रीमद्भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ मा २१ हजार १ सय २५, धनगढीस्थित शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा सञ्चालित महापुराणमा १० हजार १ सय २५, कैलाली चुरे ६ स्थित मेलकट्टेश्वर उच्च माविको स्मारिका प्रकाशनार्थ १० हजार, मदन भण्डारी फाउण्डेशन, कैलालीलाई १० हजार, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, नयाँबजार, पोखरामा १० हजार १ सय २५ लगायत विभिन्न संघसंस्थामा सहयोग प्रदान गर्नुभएको छ।
सम्मानः
कृतिहरुः
डोटेली लोकलहर कृति प्रकाशन गर्नुभएको छ भने आन्दोलनले सिकाएको बाटो र फर्केर हेर्दा नामका कृतिहरु प्रकासोन्मुख रहेका छन्।